“स्वर्गबाट ईश्वरको पवित्र इच्छा अनुसार धर्मको उद्देश्य विश्वका जनमानसबीच विवाद र मतभेदको कारण नभएर, एकता अनि सौहार्दता स्थापित गर्नु हो।”


बहाउल्लाह

शुरुवातदेखि नै भारतीय उप-महाद्वीप बहाई इतिहाससँग नजिकबाट सम्बन्धित छ। यस उप-महाद्वीपका शैद-ए-हिन्दी बाबका (बहाउल्लाहका अग्रदूत) अनुयायी बन्ने प्रथम व्यक्ति थिए। बाबको छोटो जीवनकालको दिव्य केन्द्रलाई मान्यता प्रदान गर्ने भारतबाट उनी जस्ता अन्य पनि धेरै थिए। बाबको सेवाकालमा, उनको शिक्षाका प्रकाश भारतको गाउँ अनि शहर जस्तै बम्बई (हाल मुम्बई), हैदराबाद, जौनपुर, रामपुर अनि पालमपुरसम्म प्रसारित भएका थिए।

बहाउल्लाहको शिक्षालाई प्रथमपटक भारतमा जमाल एफेन्दी नामक कुलीन फारसी व्यक्तिले सन् 1872 मा यस उप-महाद्वीपको यात्राको क्रममा ल्याएका थिए। उनले यसलाई उत्तरको रामपुर अनि लखनऊ, पूर्वको कलकत्ता अनि रङ्गून, पश्चिमको मुम्बई अनि बरोदा र अन्त्यमा दक्षिणको चेन्नई अनि कोलोम्बोसम्म पुऱ्याएका थिए। उनले भेटवार्ता गरेका सबै नवाब, राजकुमार अनि उपनिवेशी शासकदेखि लिएर आम जनमानससम्मलाई बहाउल्लाहको एकता अनि सौहार्दताको शिक्षासँग परिचय गराए। त्यसताका विद्यमान सामाजिक नियमका विपरीत सबै समुदाय अनि पृष्ठभूमिका तमाम तप्का, जाति अनि धर्मका मानिसहरूसँग कुनै भेदभावबिना उनले भेटघाट गरे।

शताब्दीको अन्त्यतिर, बम्बई, दिल्ली, पूणे अनि हैदराबादमा केही बहाई सम्प्रदायहरू थिए। अविराम रूपमा बढिरहेको बहाई समुदायको मामिला शासित गर्न यस उप-महाद्वीपका बहाई समुदायले सन् 1923 मा प्रथम राष्ट्रिय निकाय निर्वाचित गरे।

बीसौं शताब्दीको शुरुवाती दसकतिर, भारतमा बहाई समुदायको आकार अनि शक्ति बढ्दै जाँदा, बहाउल्लाहको शिक्षा-दीक्षा त्यस ताकका नेतृत्त्व अनि चिन्तकहरूको नजरमा पनि पर्न थाल्यो। महात्मा गान्धीले कैयौं बहाई अनुयायीसँग संवाद गरेपछि, “बहाई धर्म मानवताका लागि ढाढस हो” भनी घोषणा गरे। यसै गरी धेरै लब्धप्रतिष्ठ बहाईसँग भेटवार्ता गरेका रविन्द्रनाथ ठाकुरले बहाउल्लाहलाई “एशियामा जन्मिएका नयाँ देवदूत/पैगम्बर हुन् जसको सन्देश सभ्यताको प्रगतिका लागि धेरै महत्त्वपूर्ण छ” भनी उल्लेख गरे।

सन् 1960 अनि 1970 तिर, बहाउल्लाहका सन्देशहरू, भारतका जनमानसबीच, विशेष गरी ग्रामीण जनताबीच साझा गर्न थालियो। यस धर्मको शिक्षा-दीक्षाको मूल्यलाई बुझ्ने जो कोही जनमानसले स्वतः प्रेरित बन्दै स्वीकार गर्न थाले भने यस शिक्षामा लाखौं भारतीयले दीर्घकालदेखिको “वसुधैव कुटुम्बकम्” को आकाङ्क्षा साकार भइरहेको देखे। आधुनिक समाजका अनिवार्यताहरूसँग तालमेल राख्ने गरी उनीहरूले यी आदर्शहरूलाई व्यवहारमा उतार्न नयाँ प्रेरणा पाए।

समाजले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधित गर्न हजारौंले यसलाई व्यवहारमा उतार्न थाले। भारतभरी सयकडौंको सङ्ख्यामा स्थानीय बहाई प्रशासनिक निकायहरू समुदायले लोकतान्त्रिक रूपमा निर्वाचित गरे, जसले ती इलाकाका आवश्यकताहरू पूरा गर्न थाले। बाल-बच्चाको नैतिक शिक्षाको टड्कारो आवश्यकतालाई सम्बोधित गर्न भारतभरी गाउँहरूमा अनेकौं शैक्षिक पहल शुरु गरिए। सन् 1980 तिर, सयकडौं ग्रामीण शिक्षण स्कूलहरूका साथै बहाई शिक्षाबाट प्रेरित धेरै बृहत् शैक्षणिक स्कूलहरू स्थापना गरिए भने कृषि, पेशागत शिक्षा अनि शिक्षकहरूको प्रशिक्षण, साक्षरता, पर्यावरण प्रबन्धन, महिला सशक्तिकरण तथा स्वास्थ्यका परियोजनाहरू परिचालन गर्न शुरु गरिए।

नयाँ दिल्लीमा बहाई उपासना मन्दिरको निर्माणले, मानव मन अनि समाजको निम्ति बहाउल्लाहद्वारा परिकल्पना गरिएअनुरूप रूपान्तरणको प्रतीकको स्वरूपमा व्यापक मान्यता पाएको छ। कमलको फूलको आकारमा निर्मित यस मन्दिरले कठिन परिस्थितिबीच पनि नयाँ अनि समुन्नत विश्व फुल्न सक्ने प्रतिबद्धता प्रतिबिम्बित गर्दछ। यसले एकताको प्रतीक पनि बोध गराउँदछ। सन् 1986 मा यसको उद्घाटनपछि, विभिन्न धर्म, जाति वा राष्ट्रियताका औसतमा दस हजारभन्दा धेरै मानिसले गुम्बजमुनि आएर साझा रचनाकारको शान्तिपूर्वक आराधना गर्दछन्।

भारतमा आकार अनि क्षमतामा बहाई समुदाय बढ्दै गएसँगै, यसले समाजमा महत्त्वपूर्ण भूमिका बढ्दो रूपमा निर्वाह गर्दै आएको छ। राष्ट्रिय परिप्रेक्ष्यमा बढ्दो सङ्ख्यासँगै, साम्प्रदायिक सद्भावना, लैङ्गिक समानता, शिक्षा, महिला अनि पुरुषबीच समानता, शासन अनि विकास जस्ता क्षेत्रको चिन्तनधारालाई आकार दिन योगदानलाई धेरै मान्यता दिन थालिएका छन्।

आज भारतमा बीस लाखभन्दा धेरै बहाई अनुयायीहरू छन्। उनीहरू एकता अनि न्याय, सबै प्रकारका पूर्वाग्रहबाट मुक्त, महिला अनि पुरुष दुवै काँधमा काँध मिलाएर समान रूपमा समाजको सेवामा संलग्न हुने, बाल-बच्चा अनि युवाहरूले श्रेष्ठतम आध्यात्मिक एवं वैज्ञानिक शिक्षा पाउने तथा समुदायको भक्तिपूर्ण जीवनको कारण घातक सामाजिक शक्तिहरूबाट सुरक्षा पाउने समुदायको विकास गर्न देशवासीहरूसँग मिलेर राष्ट्र सेवामा समर्पित छन्।

Scroll Up