“प्रत्येक बच्चा सम्भावित रूपमा विश्वका आलोक हुन् – सोही समय त्यसका अन्धकार पक्ष पनि; यस कारण शिक्षाको प्रश्नलाई प्राथमिक रूपमा महत्त्व दिनुपर्दछ।”


अब्दुल बहा

हलचलले भरिएको छिमेकमा एउटा ठूलो हुल बच्चा हाँस्दै खेल्दै ओह्रालो बाटो झर्छन्। हिँड्दै जाँदा बाटोमा तिनीहरूले पहेंलो जङ्गली फूल टिपेर एकजना तरुण आमाको घरमा ल्याउँछन्, जसले उनीहरूलाई हरेक हप्ता आध्यात्मिक गुणहरूबारे पढाउँछन्। जोशपूर्ण तरिकाले शिक्षकलाई अभिवादन गरेपछि, तिनीहरूले चट्टी बिछ्याउँछन् र प्रार्थनाको निम्ति शान्त रूपमा झट्टै तयार हुनअघि त्यसको बीचमा फूलहरूले सजाउँछन्। तिनीहरूले मनबाट ठूलो तर विनम्र आवाजमा कैयौंपटक प्रार्थना उच्चारण गर्छन्, जसपछि शिक्षकले नयाँ पाठ सिक्न सघाउँछन्। तिनीहरूले गीत गाउँछन् र ध्यानपूर्वक ती गुणहरू व्यवहारमा ल्याउने कथा सुन्नअघि विश्वसनीयताबारे पवित्र ग्रन्थका उद्धरणबारे चर्चा गर्छन्। तिनीहरूले सक्रिय सहकार्यको खेल खेल्छन् र त्यसपछि लगभग ध्यानमग्न स्थितिमा उनीहरूले सिकेका उद्धरणसित सम्बन्धित तस्वीरमा रङ भर्न थाल्छन्।

शुरुमा कक्षाको ताल मिलाउँदै ती बाल-बालिकालाई सहयोग गर्न शिक्षकले केही सङ्घर्ष गर्नुपरे तापनि, ती विद्यार्थीहरूलाई उचित व्यवहार अप्नाउन प्रेरित गर्न पारम्परिक कडा अनुशासन आवश्यक नरहेको पाइन्; त्यहाँको वातावरण प्रेम, सहकार्य अनि परस्पर सम्मानले भरिएको थियो र त्यो के हो भन्ने विद्यार्थीहरूको चेतनाले आध्यात्मिक जीवनलाई अझ गहिरो बनाउँदै लग्यो। उनीहरू घर फर्केपछि ती तस्वीरहरू आफ्ना परिवारसँग साझा गर्छन् र शिक्षकले उनीहरूका अभिभावकलाई साँझ-बिहान नित्य रूपमा प्रार्थनाको बानी बसाल्न र साथमा उनीहरूका घरमा भक्ति सभा आयोजन गर्न पनि सहयोग गर्छन्।

हरेक हप्ता, भारतभरी यस्ता हजारौं दृश्य देखिन्छ, जहाँ स्थानीय युवा, पुरुष अनि महिलाहरूले आफ्नो घरको ढोका खोली आफ्नो छर-छिमेकका बाल-बालिकालाई नैतिक अनि आध्यात्मिक शिक्षा प्रदान गर्न शिक्षकका रूपमा सेवा प्रदान गर्दछन्। त्यस्ता कक्षामा “सही” वा “गलत” जान्ने विषयमा ध्यान केन्द्रित गर्नुको साटो, व्यक्तिलाई आध्यात्मिक रूपमा सम्पन्न बनाउने आध्यात्मिक गुण, विश्वास, बानी तथा आचार-व्यवहारको विकासमाथि बल दिने गरिन्छ। छर-छिमेक वा गाउँका ठूलै जमातमा सचेतना जगाउने कोशिश गरिन्छ, ताकि बाल-बच्चाले पढेका कुराहरूलाई बल प्रदान गर्न समुदायका सबै सदस्यले मिलेर काम गर्नसकून्।

Scroll Up