“जुन सबै कुरा स्वर्ग अनि धरतीमा छ, मैले तिमीहरूका लागि प्रदान गरेको छु, मानव हृदयबाहेक, जुन मैले मेरो सौन्दर्य र वैभवको बास स्थान बनाएको छु।”



बहाउल्लाह

समय बित्दै जाँदा धेरैभन्दा धेरै मानिसले बहाउल्लाहका शिक्षा श्रेष्ठ विश्वको सम्मोहक परिकल्पना तथा त्यसलाई साकार तुल्याउने दिशामा मार्गदर्शन गर्ने अथाह अन्तरदृष्टिको स्रोतका रूपमा पाउन थालेका छन्। धेरैले बहाई विश्वासलाई धर्मका रूपमा अझ गहनताका साथ जाँच-परख गर्ने निधो गरेका छन्। यसो गर्दा उनीहरूले मानव प्रकृतिसित सम्बन्धित विषयको व्याख्यान, ईश्वरले मानवतालाई मार्गदर्शन गराउने तरिकाको विवरण, यस धरतीमा जीवनको उद्देश्यबारे वृतान्त तथा मृत्युपछि जीवनको प्रकृतिका साथै व्यक्तिगत अनि सामूहिक भक्ति जीवनसित सम्बन्धित धर्मादेशको खोजी गर्दछन्। यसका साथै, निःसन्देह नै उनीहरूले स्वयंलाई पवित्र ग्रन्थ अनि नियम, तथा त्यसलाई शासित गर्ने सिद्धान्त अनि नियमहरूबारे अवगत गराउँदछन्। यी सबै तथा सोही प्रकारका तत्त्वहरूको स्वीकृतिले, उनीहरूलाई बहाउल्लाहका शिक्षालाई यथार्थमा परिणत गर्न समर्पित गतिशील सामुदायिक जीवनमा सहभागी बन्न सघाउ पुऱ्याँदछ। अवश्य नै आफ्नो धार्मिक विश्वासलाई अरूसँग साझा गर्न बहाई अनुयायीहरूले चाहना राख्दछन् भने, यदि कसैको मनमा यस धर्मबारे कुनै रुचि वा चासो जागे, उनीहरूलाई स्वागत छ – निःसन्देह नै बहाई समुदायको निरन्तर विकास र जीवन्ततामा योगदान पुऱ्याउनका खातिर, सक्रिय सदस्य बन्न उनीहरूलाई स्वागत छ। तथापि, “धर्म परिवर्तन” जस्तो सामान्य अवधारणा यस प्रक्रियामा लागू हुँदैन कारण बहाई धर्ममा धर्मान्तरणमाथि बन्देज छ।

यसको आलोकमा, जब बहाई अनुयायीले आफ्नो विश्वास अरूसँग साझा गर्छन्, त्यो कार्य कसैलाई विश्वास दिलाउन वा अन्यथा कुनै विशेष कुरा साबित गर्ने कोशिश हुँदैन। त्यो सत्यको खोजी गर्दै भूल बुझाबुझ निर्मूल गर्दै अस्तित्त्वको बुनियादी विषयमा अर्थपूर्ण संवाद अघि बढाउने इमान्दार प्रयासको अभिव्यक्ति हो। बहाउल्लाहले भनेका छन्, “यदि केही सत्यबारे सचेत छौ र त्यो अनमोल रत्न तिमीसँग छ, जसबाट अरू वञ्चित छन् भने, त्यसलाई अति सद्भाव अनि करुणाको भाषामा साझा गर्नु। यदि स्वीकार गरिए, यदि त्यसले आफ्नो प्रयोजन पूरा गर्दछ भने, तिम्रो उद्देश्यले सिद्धि पाउँदछ। यदि कसैले अस्वीकार गरे, उसलाई आफ्नो स्थितिमा छोडिदिनु र तिनलाई मार्गदर्शन गराउन ईश्वरलाई बिन्ती चढाउनु।”

श्वास अभिव्यक्त गर्नु मात्र असल विश्व निर्माणका लागि पर्याप्त छैन – ध्यान केन्द्रित कार्वाही पनि आवश्यक पर्दछ। बहाउल्लाह लेख्छन् : “लेखिएका कुराहरूलाई सत्य अनि कार्यमा परिणत गर्न, प्रत्येक समझदार अनि दूरदर्शी मानिसले कोशिश गर्न पनि आवश्यक ठहर्दछ।”